नेपालको मध्य भाग स्थित भरतपुर नगरपालिका अत्यन्त तिब्र शहरीकरणको कारण उच्च जनसंख्या बृद्धि भएको नगर हो । राष्ट्रिय जनगणना २०६८ अनुसार बि.सं. २०६८ आषाढ मसान्त सम्मको यस नगरको घरसंख्या २४,७३६ जसंख्या १,४३,८३६ र बार्षिक जनसंख्या बृद्धिदर ५.०३ छ । जम्मा १४ वडामा विभाजित भरतपुर नगरपालिकाको वार्ड नं. १ को केहि भाग र वार्ड नं., २, ३ र ४ घना आवादी भएको व्यापारीक क्षेत्रभित्र पर्दछन । वाँकी वडाहरु राजमार्ग वरपर वसोवास क्षेत्र तथा त्यस भन्दा परका वस्तिहरु कृषि पशुपालन तथा वसोवास क्षेत्रको रुपमा विकाश भएको पाईन्छ । हाल कृषियोग्य जमिन प्लटिङ गरी घडेरी बनाई घर बनाउने क्रम तिब्र भएकोले खानेपानी वितरण प्रणाली निर्माण भएको केहि बर्षमानै सुधार एबं विस्तार गर्नुपर्ने अवस्था आईपरेको छ । वर्तमान जासंख्या बृद्धिदर ५.०३ अनुसार २०६९ आषाढ सम्मको नगरको कुल जनसंख्या १,५८,६७० र घर संख्या २७,२२४ हुन आउँछ ।
भरतपुर नगरपालिकामा जुगेडि खोलाको मूहानवाट खानेपानी आपुर्ति गर्ने कार्यको शुरुवात खानेपानी तथा ढल निकास विभागवाट वि.सं. २०३३ तिर शुरु भएको हो । जापान सरकारको सहयोगमा वि.सं. २०५० मा दुइवटा ट्यूबवेल, रामनगर फिल्टर प्लाण्ट, १६०० घ.मी.को पानीपोखरी र थप वितरण लाईन निर्माण गरि आयोजनाको सुधार विस्तार भएको हो । यो आयोजना वि.सं. २०५६ श्रावण १ गतेदेखि नेपाल खानेपानी संस्थान भरतपुर शाखालाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण भएको केहि बर्षमानै (बि.सं.२०६१) जुगेडी सिष्टम बाढिबाट क्षतिग्रस्त भएकोले रामनगर र देबघाट क्षेत्रको सेवा बन्द भयो । संस्थानले उक्त प्रणालीको मर्मत संभार गर्न तथा नगरमा समयानुकुल सेवा प्रणालीको विस्तार गर्न सकेन । थप क्षेत्रमा सेवा विस्तारको लागि भरतपुर नगरपालिकाले खानेपानी व्यवस्थापन वोर्ड मार्फत खानेपानी सेवा सञ्चालन गर्ने र नेपाल सरकारले नेपाल खानेपानी संस्थान भरतपुर शाखाको सम्पत्ति तथा दायित्व भरतपुर खानेपानी ब्यवस्थापन बोर्डमा हस्तान्तरण गराईदिने गरि शहरी तथा वातावरणीय सुधार परियोजना (Urban and Environmental Improvement Project, UEIP)अन्तर्गत नेपाल सरकारको ऋण तथा अनुदानमा भरतपुर खानेपानी आयोजनाका नयां संरचनाहरुको निर्माण कार्य आ.ब. २०६२।०६३ मा शुरु भई आ.ब.२०६७।०६८ मा सम्पन्न भएको हो ।







